एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी बनेको छ । इंग्ल्यान्डको जितसंगै तीन म्याचको सिरिज १–१ को बराबरी भएको छ । आईतबार म्यान्चेष्टरमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियालाई २४ रनले हराएको हो । २ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ८ बल बाँकी छदै २ सय ७ रनमा समेटियो । कप्तान आरोन फिन्चले ७३, मारनस लबसचगनेले ४८ र एलेक्स केरीले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
इंग्ल्यान्डका साम कुरान, जोफ्रा आर्चर र क्रिस वाक्सले समान ३–३ विकेट लिए । आदिल रसिदले १ विकेट हात पारे । यसअघि, म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३१ रन बनायो ।
सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तीन खेलको सिरिज अन्तर्गत दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । मिचेल स्टार्कको नाममा २ विकेट रह्यो ।