एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सले अष्ट्रेलियाका लिजेण्ड क्रिकेट शेन वार्नलाई मेन्टर र ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । राजस्थानले आईपीएलको १३ औं संस्करणको लागि वार्नलाई मेन्टर र ब्रान्ड एम्बासडर नियुक्त गरिएको जनाएको छ ।
राजस्थानले वार्नलाई जन्मदिनको शुभकामना दिदै टिममा स्वागत गरेको छ । ‘फेरी स्वागत छ वार्न । वर्थ डे ब्वाई वार्न हाम्रो टिममा आईपीएलका लागि मेन्टर र ब्रान्ड एम्बासडरको रुपमा जोडिएका छन्,’ राजस्थानले ट्वीट गरेको छ ।
मेन्टर र ब्रान्ड एम्बासडर नियुक्त नियुक्त भएसँगै वार्न आईपीएलमा राजस्थानको ड्रेसिङ रुममा एक सदस्य हुने छन् । जहाँ मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्ड र कप्तान स्टिभ स्मिथ पनि हुनेछन् । वार्न सन् २०१९ मा पनि राजस्थानका ब्रान्ड एम्बासडर रहेका थिए ।
राजस्थानको टिममा फर्कन पाउदा वार्नले पनि खुशी व्यक्त गरेका छन् । ‘मेरो टिम र मेरो परिवार रोयल्समा फिर्ता आउन पाउदा एकदमै राम्रो लागेको छ । मलाई मन पर्ने टिमसँग काम गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनेका छन् ।
राजस्थानले चेन्नई सुपर किङ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।